बारामा टिभी चलाउन खोज्दा करेन्ट लाग्यो: १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार जना घाइते

२०८३ आश्विन ९, शुक्रबार २०:४२
सांकेतिक तस्बिर

सर्लाही – बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा टिभी चलाउने क्रममा करेन्ट लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ । उनलाई बचाउने क्रममा थप चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश राम आफ्नै घरमा टिभी चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

करेन्ट लागेर घाइते भएका आकाशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । तर अस्पताल पुर्‍याउँदा चिकित्सकले ईसीजी परीक्षणपछि उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

आकाशलाई करेन्ट लागेको देखेपछि उनलाई छुटाउने क्रममा उनकी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया, १२ वर्षीया दिदी निलम राम, स्थानीय पाचु रामकी ४० वर्षीया श्रीमती फूलकुमारी राम र बिगम शर्माकी ४१ वर्षीया श्रीमती अनिता शर्मा घाइते भएका हुन् ।

घाइतेमध्ये ऐतबरिया, निलम र फूलकुमारीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल सुरक्षित राख्दै आवश्यक मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सविनकुमार कार्कीको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार