विदेशबाटै मतदानको व्यवस्था मिलाउने तयारी, आयोगले थाल्यो गृहकार्य

२०८३ आश्विन १०, शनिवार २०:००

सर्लाही – विदेशमा रहेका नेपाली नागरिकलाई पनि निर्वाचनमा मतदानको अवसर उपलब्ध गराउने विषयमा निर्वाचन आयोगले अध्ययन तथा सरोकारवालासँगको छलफललाई अघि बढाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशमा रहेका नेपाली नागरिकको संख्या यकिन गर्ने, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया निर्धारण गर्ने तथा मतदानका लागि उपयुक्त विधि पहिचान गर्ने विषयमा अध्ययन भइरहेको छ।

आयोगले विदेशस्थित नेपाली नागरिकका लागि मतदान केन्द्र कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई पनि अध्ययनको दायरामा राखेको छ। त्यसक्रममा नेपाली दूतावास तथा कन्सुलेटमै मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतपत्र पठाएर मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित प्रणाली अपनाउने विकल्पबारे छलफल भइरहेको आयोगले जनाएको छ।

मतदान सम्पन्न भएपछि मतपत्रको संकलन, ढुवानी तथा व्यवस्थापनलगायतका प्राविधिक र प्रशासनिक पक्षसमेत आयोगको अध्ययनमा समेटिएका छन्। विदेशमा रहेका नेपालीको वास्तविक संख्या र सम्भावित मतदाताको विवरण संकलनलाई पनि आयोगले महत्वपूर्ण विषयका रूपमा लिएको छ।

यस विषयमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग समेत छलफल गरिरहेको छ। विदेशमा मतदानको व्यवस्था लागू गर्न आवश्यक पर्ने कानुनी तथा नीतिगत परिवर्तनबारे पनि आयोगले अध्ययन गरिरहेको प्रवक्ता भट्टराईले बताएका छन्।

आयोगको अध्ययन र छलफलबाट विदेशमा रहेका नेपालीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउने सम्भावित मोडालिटी तय हुने बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार