सर्लाही – मौसम पूर्वानुमान महाशाखाले शनिबार राति देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । वर्षासँगै केही स्थानमा हावाहुरीको समेत जोखिम रहेको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ । मधेस प्रदेशसहित अन्य केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । त्यस्तै मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्नसक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्य अवस्थाको आसपास र पूर्वतर्फ सामान्य स्थानभन्दा दक्षिणमा रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव देखिएको छ।
हाल देशका अधिकांश भूभागमा मौसम बदली भएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ भने बागमती र कर्णालीका केही तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आइतबार दिउँसो पनि सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत केही स्थानमा हावाहुरी चल्नसक्ने पूर्वानुमान छ।
त्यस्तै सोमबार हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने महाशाखाले जनाएको छ।





