सर्लाहीसहित यी जिल्लामा आज आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

२०८३ आश्विन ११, आइतवार ११:१८
फाइल फोटो

सर्लाही – निरन्तर वर्षाका कारण देशका विभिन्न भूभागमा आज असोज ११ गते आकस्मिक बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार केही नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले विभिन्न जिल्लामा बाढीको जोखिम रहेको हो ।

महाशाखाले रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मीलगायत जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ । ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा पनि साना नदीको बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ ।

महाशाखाका अनुसार आज बिहान गरिएको मापनमा कोसी र नारायणी नदी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ । वाग्मती, पश्चिम राप्ती, बबई तथा तिनका सहायक नदीहरूमा भने जलसतह सतर्कता तह नजिक रहेको छ ।

देशका अन्य नदी तथा खोलामा हाल जलसतह सतर्कता तहभन्दा तल रहे पनि वर्षा जारी रहेकाले नदी तथा खोलाको आसपासका बस्ती र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार