सर्लाही – रौतहटको गढीमाई नगरपालिका–७ धरमपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
बुधबार बिहान करिब सवा ९ बजे धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले घरअगाडि सडकमा खेलिरहेका स्थानीय छोटेलाल यादवका ६ वर्षीय छोरा रितिक यादवलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका रितिकलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान साढे १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे अस्पतालबाट प्रहरी चौकी धरमपुरमा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनापछि चालकले ट्याक्टर घटनास्थलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।





