सर्लाहीमा विभिन्न मुद्दाका ११ फरार प्रतिवादी पक्राउ

२०८३ आश्विन १५, बिहीबार १९:३८

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरेको हो।

पक्राउ परेका प्रतिवादीहरू विभिन्न मुद्दामा अदालतबाट फैसला भएपछि फरार रहँदै आएका थिए। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दाका ३ जना रहेका छन्। उनीहरूबाट अदालतले तोकेको ५४ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो।

त्यस्तै, लेनदेन बिगो मुद्दाका १ जनालाई अदालतले २ महिना कैद सजाय तोकेको थियो। बैंकिङ कसुर मुद्दाका १ जनाको भने मुद्दा चालु अवस्थामा रहेको प्रहरीले जनाएको छ।

यसैगरी, अपराधिक अभद्र सम्बन्धी कसुरका १ जनाबाट १ लाख रुपैयाँ, अपहरण, शरीर बन्धक तथा बालविवाह मुद्दाका ३ जनाबाट ५० हजार रुपैयाँ, लागुऔषध नुफिन मुद्दाका १ जनाबाट २ हजार रुपैयाँ र कुटपिट अंगभंग मुद्दाका १ जनाबाट ४ हजार ५०० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीको विवरणमा उल्लेख छ।

यस्तै, आगलागी मुद्दाका १ जनालाई अदालतले ६ महिना कैद सजाय तोकेको थियो। प्रहरीका अनुसार पक्राउ परेका ११ जना प्रतिवादीबाट अदालतको फैसला कार्यान्वयनअन्तर्गत कुल ८ महिना कैद तथा १ लाख ६० हजार ५०० रुपैयाँ जरिवाना कार्यान्वयन गर्नुपर्ने देखिएको छ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार