सर्लाही – मधेश प्रदेशमा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा विपद्का ४५९ घटना भएका छन्। ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार विपद्का घटनामा मृत्यु हुनेमा ४७ पुरुष, १९ महिला र २६ बालबालिका छन्। दुई महिनाको अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण तथा डुबानलगायतका घटना भएका हुन्।

तथ्याङ्कअनुसार करेन्ट लागेर मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ। दुई महिनामा करेन्ट लागेर मात्रै ३९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ।
जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङ लागेर तीन जना र आगलागीका कारण एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य विभिन्न विपद्का घटनामा १३ जनाको ज्यान गएको छ।
विपद्का घटनामा बालबालिकासमेत उल्लेख्य रूपमा प्रभावित भएका छन्। विशेषगरी बाढी, डुबान, पोखरी तथा अन्य जलाशयमा डुब्ने घटनाका साथै करेन्ट र अन्य जोखिमपूर्ण घटनामा बालबालिकाको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ।
वर्षायाममा मधेशमा बाढी तथा डुबानको जोखिम बढ्ने गरेको छ। खोलानाला तथा नदीमा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी र अन्य जलाशयमा डुब्ने घटनासमेत बढ्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार साउन र भदौमा मात्रै आगलागीका ११२ घटना भएका छन्। त्यसैगरी करेन्ट लागेका १०७, पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० घटना भएका छन्।
विपद्का ४५९ घटनाबाट कुल दुई करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। आगलागीका कारण मात्रै २१२ परिवारका घरमा क्षति पुगेको छ।
आगलागीबाट भएको आर्थिक क्षति सबैभन्दा ठूलो रहेको छ। दुई महिनाको अवधिमा आगलागीका घटनाबाट मात्रै दुई करोड ७० लाख १३ हजार ३५० रुपैयाँ बराबरको धनमाल क्षति भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।





