जनकपुरमा ब्राउन सुगरसहित सर्लाहीका एक युवक पक्राउ

२०८३ आश्विन १८, आईतवार १०:०५

सर्लाही – धनुषामा प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सर्लाहीका एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार साँझ करिब ४ः२० बजे जनकपुर उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्पअगाडिबाट २७ वर्षीय अरविन्द कुमार साह पक्राउ परेका हुन्।

उनी सर्लाहीको लालबन्दी नगरपालिका–५ का बासिन्दा हुन्। महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२–०२–००१ प ७८८९ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा प्रहरीले रोकेर जाँच गरेको थियो।

वडा प्रहरी कार्यालय मुजेलिया र लागूऔषध नियन्त्रण ब्युरो बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको अवस्थामा १६१.९७ ग्राम खैरो रङको हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

पदार्थ बरामद भएपछि मोटरसाइकल चालक साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका साहमाथि बरामद पदार्थबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार