डोम समुदायबाट पहिलो डाक्टर बनेका दिनेशलाई सांसद सिंहद्वारा सम्मान

२०८३ आश्विन २०, मंगलवार ०८:५३

सर्लाही – डोम समुदायबाट डाक्टर बन्न सफल सप्तरीको छिन्नमस्ता गाउँपालिका – २ रमपुराका दिनेश मरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सांसद डा. अमरेशकुमार सिंहले सम्मान गरेका छन्।

सोमबार वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा सांसद सिंहले मरिकलाई बधाई तथा सम्मान व्यक्त गरेका हुन्। उनले मरिकको सफलता लामो समयदेखि जातीय विभेद, छुवाछुत र आर्थिक अभावको सामना गर्दै आएको डोम समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

मरिकले चिकित्सक बन्ने क्रममा विभिन्न सामाजिक तथा आर्थिक चुनौती सामना गर्नुपरेको सिंहले उल्लेख गरेका छन्। जातीय विभेदका कारण पटक पटक डेराबाट निकालिनुपरेको तथा विद्यालयमा सरस्वती पूजाको प्रसादसमेत छुन नदिइएको विगतलाई पार गर्दै मरिक डाक्टर बन्न सफल भएको उनले बताएका छन्।

मरिकको अध्ययन यात्रामा लेखक, पत्रकार तथा दलित अधिकारकर्मी भोला पासवानले महत्वपूर्ण भूमिका खेलेको सिंहको भनाइ छ। पासवानले प्रदेश सरकारलगायत विभिन्न निकायसँग पहल गरी मरिकका लागि छात्रवृत्ति तथा आर्थिक सहयोग जुटाउन सहयोग गरेको सिंहले उल्लेख गरेका छन्।

सिंहले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित सीमान्तकृत तथा दलित समुदायका विद्यार्थीलाई लक्षित गरी विशेष छात्रवृत्ति र आर्थिक सहयोगका कार्यक्रम ल्याउन सरकारसँग पहल गर्ने बताएका छन्।

उनले डा. मरिकजस्तै सीमान्तकृत र विपन्न समुदायबाट कम्तीमा १०० जना डाक्टर तयार पार्ने उद्देश्यका साथ व्यक्तिगत तथा राजनीतिक रूपमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार