सर्लाही – धनुषाको धनौजी गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित विभिन्न योजनाको खरिद प्रक्रियामा सार्वजनिक खरिद कानुन उल्लङ्घन गरी सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार मुद्दा दायर गरिएकामा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल, सह लेखापाल बिनोद कुमार मण्डल, ‘जनकपुर टुडे’ राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादव, सोही मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडिया प्रालिका प्रतिनिधि सञ्जयकुमार यादव छन्।

आयोगको अनुसन्धानबाट गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितको मिलेमतोमा बोलपत्र आह्वानसम्बन्धी सूचना सार्वजनिक रूपमा प्रकाशन नगरी खरिद प्रक्रिया अघि बढाइएको देखिएको जनाएको छ।
धनौजी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारबाट विशेष अनुदानमार्फत डिप बोरिङ जडान, कोल्डस्टोरको कम्पाउण्ड वाल निर्माण र विद्यालय भवन निर्माणका लागि बजेट प्राप्त गरेको थियो। ती योजनाका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था थियो।
तर, प्रतिवादीहरूले आफूलाई गैरकानुनी लाभ र गाउँपालिकालाई हानि पुर्याउने उद्देश्यले बोलपत्रसम्बन्धी सूचना सार्वजनिक नगरी अभिलेखमा मात्र राखेको आयोगको आरोप छ। आयोगका अनुसार खुला बोलपत्र आह्वानको सूचना सर्वसाधारणले प्राप्त गर्ने गरी प्रकाशन तथा वितरण नगरी ठेक्का प्रक्रियाको फाइलमा राखिएको थियो।
त्यसैगरी, लेखापरीक्षण गर्ने निकायलाई समेत झुक्याउने उद्देश्यले एउटै मितिको पत्रिकाका फरक फरक बेहोराका प्रति तयार गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। अनुसन्धानका क्रममा ‘जनकपुर टुडे’ राष्ट्रिय दैनिकको २०७८ वैशाख २४ गतेको एउटा अंकमा मात्र उक्त सूचना प्रकाशित भएको देखिएको आयोगले जनाएको छ।
सोही प्रकाशनलाई आधार बनाएर अमृत मिडिया प्रालिमार्फत भुक्तानी माग गरिएको पाइएको थियो। आयोगका अनुसार एउटै विज्ञापनमार्फत सूचना प्रकाशन गरेबापत दुई छुट्टाछुट्टै योजनाको विज्ञापनका रूपमा देखाई जनकपुर टुडे मिडिया ग्रुप प्रालिलाई कुल ३ लाख ८० हजार रुपैयाँ भुक्तानी गरिएको थियो।
उक्त कार्य सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रावधानविपरीत रहेको निष्कर्षसहित आयोगले प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।





