सर्लाही – दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले प्रदेशका आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला हुने भीडभाड, यात्रुको चाप, सीमा क्षेत्रमा बढ्ने आवतजावत तथा सम्भावित आपराधिक गतिविधिलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गर्न लागिएको हो।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म प्रदेशभर ७ हजार २२९ प्रहरी परिचालन हुनेछन्। जिल्लागत रूपमा सबैभन्दा बढी जनशक्ति धनुषामा १ हजार ५९९ जना खटाइनेछ। त्यसैगरी बारामा ८७०, रौतहटमा ८६३, सप्तरीमा ८५७, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, पर्सामा ६६१ र सिरहामा ६५१ प्रहरी परिचालन गर्ने सुरक्षा योजना छ।

प्रहरीका अनुसार चाडपर्वको सुरक्षा व्यवस्थापनका लागि विभिन्न प्रकृतिका १ हजार १२४ ड्युटी निर्धारण गरिएको छ। नियमित तथा विशेष सुरक्षा व्यवस्थापनमा ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन्। यसअन्तर्गत १४ जिल्ला रिजर्भ, ९२ क्विक रेस्पोन्स टिम (क्यूआरटी), १८ स्ट्राइकिङ टोली, ट्राफिकसहितका ८७ चेकिङ, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती परिचालन गरिनेछ।
शंकास्पद तथा संवेदनशील स्थानमा निगरानीका लागि ३३९ पिकेट, राजमार्गमा यात्रु तथा सवारी सुरक्षाका लागि २९ वटा स्कर्टिङ ड्युटी र यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउन ६४ यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरीले जनाएको छ।
भारतसँग जोडिएका सीमा नाकामा चोरी तथा तस्करी नियन्त्रणका लागि ७३ ड्युटी परिचालन गरिनेछ। धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ तथा कर्डन र सर्च अभियानका लागि १८ ड्युटी तोकिएको छ। त्यस्तै, सभा, जुलुस तथा धर्नाका क्रममा आकस्मिक सुरक्षा व्यवस्थापन गर्न १६ र विपद् प्रतिकार्यका लागि २२ टोली तयारी अवस्थामा राखिनेछन्। सीमा क्षेत्रमा २८ वटा हेल्प डेस्कसमेत सञ्चालन हुनेछन्।
चाडपर्वका बेला नेपाल–भारत सीमा नाकाबाट मानिसको आवतजावत उल्लेख्य रूपमा बढ्ने भएकाले सीमा क्षेत्रमा हुने तस्करी, अवैध सामानको ओसारपसार तथा अन्य गैरकानुनी गतिविधिलाई प्रहरीले विशेष निगरानीमा राख्ने भएको छ।
दसैं, तिहार र छठका अवसरमा धार्मिक तथा सार्वजनिक स्थलमा हुने भीडलाई मध्यनजर गर्दै चोरी, पाकेटमारी, लुटपाट तथा मानिस हराउनेजस्ता घटना रोक्न सुरक्षा उपस्थिति बढाइनेछ। छठ पर्वका क्रममा नदी, पोखरी तथा जलाशयका घाटमा हुने भीडमा डुब्ने र अन्य दुर्घटनाको जोखिमलाई समेत सुरक्षा योजनामा समेटिएको छ।
त्यसैगरी दसैंमा घर फर्किने यात्रु तथा तिहारपछि बढ्ने सवारी आवागमनका कारण सडक दुर्घटना र ट्राफिक जाम हुनसक्ने भएकाले राजमार्ग तथा प्रमुख सडकमा ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।
पटका तथा आतिसबाजीबाट हुनसक्ने आगलागी, जुवा–तास तथा अवैध सट्टेबाजी, मादक पदार्थ सेवनपछि हुने झैझगडा, घरेलु हिंसा, भीडभाडमा हुने चोरी तथा लुटपाटलाई पनि प्रहरीले सम्भावित सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।
चाडपर्वका बेला सुनचाँदी पसल, बैंक तथा नगद कारोबार हुने स्थानमा चोरी र डकैतीको जोखिम बढ्न सक्ने भएकाले त्यस्ता क्षेत्रमा निगरानी बढाइनेछ। देउसी–भैलो, सांस्कृतिक कार्यक्रम तथा डिजेका कारण रातिको समयमा शान्ति–सुरक्षामा असर पर्न सक्ने अवस्थालाई पनि प्रहरीले ध्यानमा राखेको छ।
धार्मिक कार्यक्रम, जुलुस तथा विभिन्न सार्वजनिक गतिविधिका क्रममा स्थानीय विवाद वा सामाजिक तनाव उत्पन्न हुनसक्ने भन्दै त्यस्ता गतिविधिमा समेत सुरक्षा निगरानी बढाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अवैध मदिरा र लागुऔषधको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणलाई पनि सुरक्षा योजनामा समेटिएको छ। सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर तनाव सिर्जना गर्ने गतिविधि तथा आगलागी, विद्युत् सर्टलगायत आकस्मिक विपद्को जोखिमलाई समेत प्रहरीले निगरानीमा राख्ने भएको छ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन केही प्रहरी जनशक्तिलाई कमान्ड पोस्ट, संयुक्त गस्ती, सादा पोसाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।





