मलंगवा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सबइन्जिनियर सहायक (चौथो) कौशल कुमार मधुकरलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। आयोगले सार्वजनिक गरेको विवरणअनुसार यादव र मधुकरले उक्त कामका लागि सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस मागेका थिए।

घुस रकम लिइसकेको अवस्थामा मंगलबार साँझ दुवै जनालाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।





