सर्लाहीमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८३ आश्विन २१, बुधवार २०:०४

मलंगवा – सर्लाहीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ५७ हजार ६ सय १८ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार मंगलबार मलंगवा नगरपालिका–२ स्थित नयाँ बसपार्कमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक रुपेश अधिकारीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही टोलीले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई नगदसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कबिलासी नगरपालिका–७ का ३२ वर्षीय शत्रुधन यादव, हरिवन नगरपालिका–४ गणेश चोकका २४ वर्षीय दिपेन्द्र चौधरी, मलंगवा नगरपालिका–३ का ३० वर्षीय अताहुल्ला मिकरानी, हरिपुर नगरपालिका–२ का ४२ वर्षीय प्रमोद साह र हरिपुर नगरपालिका–८ का ५२ वर्षीय पुरुषोत्तम न्यौपाने रहेका छन्।

पक्राउ परेका उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी वेद प्रसाद गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार