मलंगवा – सर्लाहीको लालबन्दीमा किराना पसलको भेन्टिलेसनबाट प्रवेश गरी १० लाख रुपैयाँ नगदसहित चुरोट चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका – ७ स्थित लालबन्दी बजारबाट मरिनतर्फ जाने सडकमा कैलाश साहका छोरा उमाशंकर साहले सञ्चालन गर्दै आएको कैलाश सप्लायर्स किराना पसलमा चोरी भएको थियो।

प्रहरीका अनुसार अज्ञात व्यक्तिहरूले पसलको पछाडि रहेको छिमेकी अर्थबहादुर बम्जनको एकतले घरमा भर्याङ लगाएर पसलको पछाडिपट्टिको भेन्टिलेसनको रड बङ्ग्याई त्यहाँबाट पसलभित्र प्रवेश गरेका थिए।
उनीहरूले पसलको भित्री ढोका फुटाउनुका साथै क्यास काउन्टरका दराजसमेत औजार प्रयोग गरी फुटाएर काउन्टरमा रहेको विभिन्न दरका १० लाख रुपैयाँ नगद र ३ हजार ६ सय रुपैयाँ मूल्य पर्ने तीन बन्डल चुरोट चोरी गरी सोही भेन्टिलेसनबाट फरार भएको प्रहरीको भनाइ छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले पसलमा जडान गरिएको सीसीटीभी फुटेज तथा विभिन्न प्रविधिको प्रयोग गरी चोरीमा संलग्न व्यक्तिको पहिचान गरेको जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न रहेको खुलेपछि सर्लाहीको नारायणखोला–७ हाल परिवर्तित लालबन्दी नगरपालिका–१४ बस्ने ३७ वर्षीय हिरालाल ब्लोनलाई असोज १८ गते काठमाडौं महानगरपालिका–२३ बाट पक्राउ गरिएको थियो।
उनको साथबाट ५० हजार रुपैयाँ नगद, विभिन्न किसिमका घरेलु हातहतियार तथा घटनामा प्रयोग भएको टी–सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ। ब्लोनसँग सोधपुछ गर्दा घटनामा लालबन्दी नगरपालिका–१४ लखनदेही टोलका ४४ वर्षीय चन्द्रे वाइवा समेत संलग्न रहेको खुलेपछि प्रहरीले उनको खोजी गरेको थियो।
सोही क्रममा वाइवलाई असोज २० गते लालबन्दी नगरपालिका–११ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।





