सर्लाही – काठमाडौंमा ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा सर्लाहीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका – ३२ बस्दै आएका २२ वर्षीय बिक्की कुमार महतो रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ करिब ५ बजे काठमाडौं महानगरपालिका – ११ माइतीघरस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा महतोलाई प्रहरीले फेला पारेको थियो। त्यसपछि सोधपुछ तथा चेकजाँच गर्दा उनी अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महतोले वन एक्सबेट र मोबक्यास एप्लिकेसन मार्फत सट्टेबाजी तथा अनलाइन जुवा गर्ने गराउने गरेको पाइएको छ। साथै, उनले युएसडीटी लगायत अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारसमेत गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार हालसम्म महतोको संलग्नतामा ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनको साथबाट एउटा मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिएको छ।
अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।





