जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु : एक जना गम्भीर घाइते, आमा छोरा पक्राउ

२०८३ आश्विन २२, बिहीबार २३:०२

सर्लाही – धनुषाको जनकपुरधाम उपमहानगरपालिका – ५ रहिम पथनजिक पुरानो रिसइबीका कारण भएको चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

बिहीबार साँझ भएको घटनामा जनकपुरधाम उपमहानगरपालिका – ५ सोनारपट्टी दाहा चोक बस्ने २४ वर्षीय आमिन साफीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्थानका २५ वर्षीय इम्तियाज राईन गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार दुवै जनाको छाती तथा पेटमा धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय मोहमद इलसाद खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धानका लागि उनकी ४२ वर्षीया आमा सैमुन खातुनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाको कारण पुरानो रिसइबी रहेको प्रारम्भिक विवरण आए पनि घटनाको वास्तविक कारण तथा संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार