सर्लाही – नेकपा (एमाले) ले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक सांसद पदमा नाजमा खातुनलाई पठाउने निर्णय गरेको छ। पार्टीको समानुपातिक बन्दसूचीमा ४०औँ स्थानमा रहेकी खातुनलाई प्रदेशसभा सदस्य बनाउने निर्णय एमालेले गरेको हो।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले खातुनलाई प्रदेशसभा सदस्यका रूपमा अघि बढाउने निर्णय गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।

यसअघि मधेस प्रदेशसभामा एमालेबाट समानुपातिक सदस्य रहेकी जैनब खातुनको निधन भएपछि उक्त पद रिक्त भएको थियो। रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तिया निवासी जैनब रौतहट–३ बाट समानुपातिक प्रणालीमार्फत प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी थिइन्। उनी प्रदेशसभाको अर्थ तथा योजना समितिकी सदस्यसमेत थिइन्।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएकी जैनबको गत असोज १ गते निधन भएको थियो। परिवारका अनुसार रगतमा चिनीको मात्रा अचानक बढेपछि उनलाई अस्पताल लगिएको थियो।
जैनबको निधनपछि रिक्त रहेको स्थानमा नाजमा खातुनलाई पठाउने निर्णयसँगै मधेस प्रदेशसभामा एमालेको समानुपातिक प्रतिनिधित्वलाई निरन्तरता दिने बाटो खुलेको छ। अब निर्वाचन आयोगबाट आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि खातुनको प्रदेशसभा सदस्य पदसम्बन्धी प्रक्रिया अघि बढ्नेछ। त्यसपछि उनले पद तथा गोपनीयताको शपथ लिएर आफ्नो जिम्मेवारी सम्हाल्नेछिन्।





