सर्लाही – सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई गृह मन्त्रालयले सेवाबाट बर्खास्त गरेको छ।
आचरण र अनुशासनसम्बन्धी व्यवस्था पटक–पटक उल्लंघन गरेको ठहर गर्दै मन्त्रालयले उनलाई विभागीय कारबाहीस्वरूप सेवाबाट हटाउने निर्णय गरेको हो। गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको छ।

मन्त्रालयले दाहालमाथि आचरणविपरीतका कार्य दोहोर्याएको, अनुशासनहीन गतिविधिमा संलग्न भएको तथा नेपाल सरकार र आफू कार्यरत संगठनको मानप्रतिष्ठामा आँच पुग्ने कार्य गरेको ठहर गरेको जनाएको छ। यी कारणलाई आधार बनाएर मन्त्रालयले उनीमाथि विभागीय कारबाही गरेको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहाललाई सेवाबाट हटाइएको निर्णय सार्वजनिक गरिएको छ।





