सर्लाही – पर्साको वीरगञ्ज महानगरपालिका – १०, बजरंग टोलस्थित भित्री सडक खण्डमा मिनी ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
आदर्शनगरबाट सिर्सिया पुलतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क ३५३७ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ साइकलमा सवार भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्ला, हरैया वडा नं. १, भलुवाहा टोल निवासी अन्दाजी ४५ वर्षीय खेखन पण्डितलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका पण्डितलाई उपचारका लागि नारायणी अस्पताल, पर्सा लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि मिनी ट्रक चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका – ४, चैनपुर निवासी अन्दाजी ३६ वर्षीय टुना देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि स्थानीयले चालक देवानमाथि कुटपिटसमेत गरेका थिए। कुटपिटबाट उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





