सर्लाही – भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको ज्यान गएको छ। मंगलबार राति भएको उक्त दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश बालबालिका तथा किशोरी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
समाचारअनुसार भोजमा सहभागी हुन गइरहेका १५ देखि २५ जनासम्म सवार रहेको सानो डुङ्गा गङ्गा नदीमा पल्टिएको थियो। दुर्घटनापछि नदीमा डुबेर १३ जनाको मृत्यु भएको बताइएको छ। घटनामा अन्य व्यक्तिहरूको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।
यसैगरी, बिहार सरकारले पनि दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने जनाएको छ। केन्द्र सरकार र राज्य सरकारको घोषणाअनुसार मृतकका परिवारले कुल छ लाख भारतीय रुपैयाँ सहायता पाउनेछन्। गङ्गा नदीमा भएको यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ।





