सर्लाही – रौतहटको चन्द्रपुर नगरपालिका–८ मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। घरअगाडि सडक छेउमा खेलिरहेकी बालिकालाई बसले ठक्कर दिँदा घटनास्थलमै उनको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सिन्धुरे घारीबाट चन्द्रपुरतर्फ आउँदै गरेको म.प्र.०३–००१ क २८७८ नम्बरको मुनलाइट एकेडेमीको स्कुल बसले आज बिहान करिब ११ बजे बालिकालाई ठक्कर दिएको थियो।

दुर्घटनामा चन्द्रपुर नगरपालिका–८ मोतीपुर निवासी सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट उनको टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेको थियो।
घटनापछि दुर्घटनामा संलग्न स्कुल बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ। बस चालक चन्द्रपुर नगरपालिका–४ निवासी कान्छा राईलाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।





