सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक युवक पक्राउ

२०८३ आश्विन २८, बुधवार १६:५३

सर्लाही – सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा हिंसा फैलाउन उक्साउने तथा विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मानमर्दन हुने गरी आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका – १ निवासी अन्दाजी २० वर्षीय क्रिमिनल भन्ने राजु यादव रहेका छन्।

प्रहरीका अनुसार यादवले सामाजिक सञ्जाल टिकटकमा विभिन्न व्यक्ति, समुदाय तथा सङ्गठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने, आपत्तिजनक शब्द बोल्ने र धम्की दिने किसिमका भिडियो पोस्ट गरेको आरोप छ।

उनलाई मंगलबार दिउँसो करिब ३ बजे जनकपुरधाम उपमहानगरपालिका – ९ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार