आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

२०८३ आश्विन २९, बिहिवार ०८:४५

सर्लाही – बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ स्वरूप स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल पञ्चमीका दिन घरघरमा स्थापना गरिएको पूजास्थल तथा दसैँघरमा स्कन्दमाताको आह्वान गरी धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा छ।

पौराणिक मान्यताअनुसार स्कन्दमातालाई भगवान् स्कन्द अर्थात् कार्तिकेयकी माता पार्वतीको स्वरूपका रूपमा लिइन्छ। धार्मिक ग्रन्थहरूमा स्कन्दमातासम्बन्धी विभिन्न प्रसङ्ग उल्लेख छन्। स्कन्दमाताको स्वरूप सिंहमा विराजमान भएको र हातमा कमलका फूल धारण गरेको वर्णन पाइन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै नवदुर्गाको पूजा आराधना सुरु भएको हो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डाको पूजा गरिएको थियो। पाँचौँ दिन आज स्कन्दमाताको आराधना गरिँदैछ।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्रको पाठ गर्ने प्रचलन छ। यस अवधिमा देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शनका लागि भक्तजन पुग्ने गर्छन्।

वैदिक सनातन धर्मावलम्बीले नवरात्रका अवसरमा दुर्गा भवानीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास राख्छन्। यही मान्यताअनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीका नौ स्वरूपको विशेष पूजा गरिन्छ।

नवदुर्गाका स्वरूपमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री रहेका छन्। नवरात्रका प्रत्येक दिन देवीको फरक स्वरूपको पूजा गर्ने धार्मिक परम्परा छ।

नौ दिनसम्म देवीको आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। यसरी नेपाली समाजमा बडादसैँलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको १५ दिने पर्वका रूपमा मनाउने गरिन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार