सर्लाही – गैँडाकोटस्थित सामुदायिक वनमा गाडिएको शव चिहानबाट बाहिर निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका–५ घर भई नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका – ४ रानीतालमा बस्दै आएका ३१ वर्षीय शिव भनिने शक्ति परियार रहेका छन्।
प्रहरीका अनुसार असोज २४ गते गैँडाकोट नगरपालिका – ४ रानीताल निवासी ४९ वर्षीया कनिमाया गुरुङको मृत्यु भएको थियो। उनको शव आफन्तले गैँडाकोट सामुदायिक वनमा खाडल खनेर गाड्दै अन्तिम संस्कार गरेका थिए। तर, शव गाडेको दुई दिनपछि अर्थात् असोज २६ गते बिहान करिब ७ बजे आफन्त समाधिस्थलबाट माटो लिन पुग्दा शव खाडलबाट निकालिएको अवस्थामा फेला परेको थियो।

आफूहरूले विधिपूर्वक गाडेको शव खाडलमा खुला अवस्थामा भेटिएपछि आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका थिए। घटनाको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले शव बाहिर निकालिएको घटनामा शक्ति परियार संलग्न रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाईएको छ।





