सर्लाही – सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले गहुँको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।
यसैगरी, बाढी तथा पहिरोबाट प्रभावित विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि सरकारले गरेको छ।

निर्णयअनुसार बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित गोरखाका चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
त्यस्तै, २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट अतिप्रभावित बागलुङका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई समेत तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।





