सर्लाही – सप्तरीमा हात्तीलाई मारेर धानखेतमा खाल्डो खनी गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित धानखेतमा हात्ती गाडिएको अवस्थामा फेला परेपछि घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिइएको हो।
कोशीटप्पु वन्यजन्तु आरक्षको नियमित गस्ती टोलीले कङ्कालिनी मन्दिरबाट करिब एक किलोमिटर उत्तरपूर्वतर्फ रहेको धानखेतमा हात्ती गाडिएको अवस्थामा फेला पारेको थियो। हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले जानकारी दिए।

ठाकुरका अनुसार हात्तीको मृत्यु कसरी भएको हो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन। घटनाको प्रकृति र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन।





