जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

२०८३ आश्विन ३१, शनिवार १७:२३
सांकेतिक तस्बिर

सर्लाहि – जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा शनिबार बिहान अटो दुर्घटना भएको हो।

प्राप्त विवरणअनुसार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो बिहान करिब ११ः१५ बजे अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल दल्ली पुर्‍याएको थियो। उपचारका क्रममा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र सोही स्थानका ५५ वर्षीय रमेश विकलाई चिकित्सकले दिउँसो १२ः२० बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार