मलंगवा – सर्लाहीको बलरा नगरपालिका–५ भगवानपुरस्थित सीमावर्ती क्षेत्रमा भारततर्फ अवैध रूपमा लैजाँदै गरेको करिब १७ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
शनिबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी मधुवनीबाट खटिएको मोबाइल गस्ती टोलीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा सामान बरामद गरेको हो। बरामद गरिएका सामानमा २० बोरा जगदम्बा सिमेन्ट, अन्दाजी दुई टन सेतो रङको एल्मुनियम सिल्ली तथा सामान ओसारपसारमा प्रयोग गरिएको ट्र्याक्टरको ट्रेलर रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार बरामद सामानको कुल अनुमानित मूल्य १७ लाख १४ हजार रुपैयाँ रहेको छ। बरामद गरिएका सामान आवश्यक कारबाही तथा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।





