अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी बाबु छोराको मृत्यु भएको छ।
दशैँको टीका लगाउन जाने क्रममा दुर्घटनामा परेका भूमिकास्थान नगरपालिका–८ निवासी ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लम्चीबाट भूमिकास्थान नगरपालिका–८ स्थित ढाकाबाङमा टीका लगाउन जाने क्रममा उनीहरू सवार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका– २ स्थित सडकबाट तल जंगलमा खसेको थियो।
दशैँको टीका लगाउन गएका बाबु छोरा रातिसम्म पनि घर नफर्किएपछि आफन्तले उनीहरूको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा बिहीबार बिहान सडकबाट तल जंगलमा दुवै जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





