मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका – ८ स्थित हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मन्दिर परिसरबाट चोरीमा संलग्न रहेको आरोपमा १६ र १३ वर्षका दुई नाबालकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार आईतबार बिहान करिब ३ बजे मन्दिरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा मन्दिरमा रहेको हनुमानजीको मूर्तिमा लगाइएका चाँदीका मुकुट, माला, टीका, मुख तथा अनुहारमा लगाइने विभिन्न चाँदीका गरगहना र दानपेटिकामा रहेको रकम चोरी भएको खुलेको छ। चोरी भएको सामान तथा रकमको यकिन विवरण भने खुल्न बाँकी छ।
प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै नाबालकको नाम गोप्य राखेको जनाएको छ। उनीहरू यसअघि पनि चोरीको घटनामा संलग्न भई बाल सुधारगृहमा बसेर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्याउने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ। यस्ता घटनालाई लिएर अफवाह फैलाउने वा सामाजिक सद्भावमा असर पुग्ने गतिविधि गरे प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।





