उम्मेदवार छनौटमा व्यक्तिको चरित्र र सामाजिक छविलाई महत्व दिइनेछ – यादव

२०८३ कार्तिक ८, आइतवार १५:५६
file image

सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका सभापति तथा सिरहा–४ का सांसद तपेश्वर यादवले आगामी स्थानीय तह निर्वाचनमा स्वच्छ छवि, इमानदारी र जनताप्रतिको उत्तरदायित्व भएका व्यक्तिलाई उम्मेदवार बनाइने बताएका छन्।

आइतबार सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यादवले उम्मेदवार छनोटमा व्यक्तिगत चरित्र, सामाजिक प्रतिष्ठा र स्थानीय समस्या समाधान गर्न सक्ने क्षमतालाई मुख्य आधार बनाइने स्पष्ट पारे।

पुरानै विकृति र गलत मानसिकता बोकेर पार्टीमा आउने तथा अवसर नपाए अन्य दलमा जाने सोच राख्नेहरूका लागि रास्वपामा ठाउँ नरहने उनको भनाइ थियो। कुनै समय जिल्लामा र प्रदेशमा १०–२० जना कार्यकर्ता भेला गर्नसमेत कठिन हुने गरेको स्मरण गर्दै उनले अहिले वडा तहका कार्यक्रममा सयौँको सहभागिता हुन थालेकोमा खुसी व्यक्त गरे।

स्थानीय तहको निर्वाचन जनतासँग प्रत्यक्ष जोडिएको प्रतिस्पर्धा भएकाले उम्मेदवार बन्न चाहनेले आफ्नो लोकप्रियता र कार्यक्षमता जनतामाझ प्रमाणित गर्नुपर्ने यादवले बताए। पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत हुने प्रतिस्पर्धामा स्वच्छ चरित्र भएका र जनताका समस्या समाधान गर्न सक्ने व्यक्तिले प्राथमिकता पाउने उनले उल्लेख गरे।

“स्थानीय तहमा निर्वाचित हुन पैसाको खोलो बगाउने र पदमा पुगेपछि अकुत सम्पत्ति कमाउने सोच कसैले नराख्नुहोस्। जनताले देश बनाउने विश्वासका साथ हामीलाई ठूलो जनमत दिएका छन्। हाम्रो प्राथमिकता सुशासनबाहेक अरू केही हुनुहुँदैन,” यादवले भने।

उनले रास्वपाले आफूलाई शासक नभई जनताको सेवकका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै पहाडी क्षेत्रमा परम्परागत राजनीतिक दल छाडेर र मधेशमा जातीय आधारभन्दा माथि उठेर जनताले पार्टीलाई साथ दिएको दाबी गरे। आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नेताहरूको वरिपरि घुम्नुभन्दा जनतामाझ पुगेर विश्वास जित्न उनले कार्यकर्तालाई आग्रह गरे।

पार्टीभित्र पुराना र नयाँ कार्यकर्ताबीच सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिँदै यादवले पुरानाले नयाँलाई अपनत्व दिनुपर्ने र नयाँले पुरानालाई सम्मान गर्नुपर्ने बताए। व्यक्तिगत अहंकार त्यागेर ‘म’ भन्दा ‘हामी’ भन्ने भावना विकास गर्न सके मात्रै पालिकाको समृद्धिका लागि साझा लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो।

सांसदको निर्वाचनभन्दा स्थानीय तहको निर्वाचन अझ चुनौतीपूर्ण हुने भन्दै उनले नेता तथा कार्यकर्तालाई हरेक कदम सोचविचार गरेर चाल्न निर्देशन दिए। संघीय सरकारले सुशासन कायम गर्न गरिरहेका काम र उपलब्धिबारे पनि जनतालाई जानकारी गराउन उनले आग्रह गरे।

‘क्यान्डिडेट क्लब’मा प्रतिस्पर्धा गर्न सबैलाई अवसर रहेको उल्लेख गर्दै यादवले पार्टीको आधिकारिक निर्णय र अनुशासनविपरीत कसैले पनि गतिविधि गर्न नपाउने स्पष्ट पारे।

यादवले सिरहा र धनुषालाई जोड्ने कमला पुल दुई महिनाभित्र सञ्चालनमा आउने दाबीसमेत गरे। सरकारी कार्यालयमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न सरकारले गम्भीर रूपमा गृहकार्य गरिरहेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार