सर्लाही – बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवातमा परिणत हुन सक्ने अनुमान गरिएको छ।
उक्त प्रणालीको प्रभाव आगामी बुधबारदेखि नेपालमा देखिन थाल्ने र बिहीबारदेखि थप फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ। शुक्रबार र शनिबार यसको प्रभाव अझ तीव्र हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागका अनुसार बुधबार देशका अधिकांश क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपात हुन सक्नेछ भने पहाडी क्षेत्रमा छिटपुट वर्षाको सम्भावना छ।
बिहीबारदेखि भने मौसम थप प्रतिकूल बन्न सक्ने देखिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ। यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत वर्षा र हिमपात हुन सक्ने जनाइएको छ। मौसममा आउने यस परिवर्तनले जनजीवनसँगै विभिन्न क्षेत्रमा असर पार्न सक्ने भएकाले पूर्वतयारी आवश्यक देखिएको छ।
सम्भावित वर्षालाई ध्यानमा राख्दै किसानलाई धान काट्ने र भित्र्याउने कामको योजना सावधानीपूर्वक बनाउन सुझाव दिइएको छ। त्यस्तै, लामो दूरीको यात्रा गर्ने तथा उच्च हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जानेहरूले मौसमको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्नुपर्ने देखिएको छ।
विभागले सम्भावित प्रतिकूल मौसमका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। वर्षा र हिमपातबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरिएको छ।
मौसमको अवस्था परिवर्तन भइरहन सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला पूर्वानुमान तथा आधिकारिक सूचनामा अद्यावधिक रहनसमेत अनुरोध गरिएको छ।





