मलंगवा – गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधनप्रति शोक व्यक्त गर्दै सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाले आज सोमबार पालिकाभर सार्वजनिक बिदा दिएको छ।
गाउँ कार्यपालिकाको बैठकले अध्यक्ष साहको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाअन्तर्गतका सबै कार्यालय तथा संस्थामा शोक बिदा दिने निर्णय गरेको हो। सोमबार गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्थाहरू बन्द रहने पालिकाले जनाएको छ।

ब्रह्मपुरी गाउँपालिका – २ निवासी ८५ वर्षीय साहको गत बुधबार बिहान काठमाडौंमा निधन भएको थियो। उनि केही समयदेखि अप्लास्टिक एनिमिया नामक दुर्लभ रक्तसम्बन्धी रोगबाट पीडित थिए। साह २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।





