सर्लाहीमा भारी वर्षाको पूर्वानुमानपछि प्रशासनको सतर्कता, किसानलाई धान नकाट्न आग्रह

२०८३ कार्तिक ९, सोमवार १७:४४

मलंगवा – बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण सर्लाहीसहित मधेश प्रदेश र उत्तरी क्षेत्रमा भारी तथा उच्च वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला विपद् व्यवस्थापन समितिले सतर्कता अपनाउन आग्रह गरेको छ। समितिले किसानलाई धानबाली नकाट्न तथा काटिसकेको भए सुरक्षित स्थानमा सार्न स्थानीय तहलाई व्यापक सूचना प्रवाह गर्न निर्देशन दिएको छ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा सोमबार बसेको बैठकले सम्भावित वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउन निर्णय गरेको हो।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाले २०८३ कात्तिक ८ गते जारी गरेको बुलेटिनअनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण कात्तिक ११ गते बुधबारदेखि मधेश प्रदेश तथा प्रदेशको उत्तरी क्षेत्रमा भारीदेखि उच्च वर्षा हुन सक्ने पूर्वानुमान गरिएको बैठकको निर्णयमा उल्लेख छ।

सम्भावित वर्षाबाट धानबालीमा क्षति हुन नदिन किसानलाई धान नकाट्न र काटिसकेको भए सुरक्षित स्थानमा भित्र्याउन वा उचित भण्डारणको व्यवस्था मिलाउन स्थानीय तहले माइकिङ तथा अन्य सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गर्नुपर्ने निर्णय गरिएको छ। यसका साथै सम्भावित जोखिमबारे नागरिकलाई समयमै सचेत गराउन पनि स्थानीय तहलाई आग्रह गरिएको छ।

बैठकले मौसममा आउने परिवर्तन तथा सम्भावित विपद्सम्बन्धी सूचना सर्वसाधारणसम्म छिटो पुर्‍याउन एफएम रेडियो, स्थानीय जनप्रतिनिधि तथा सामाजिक सञ्जालमार्फत पूर्वसूचना र जनचेतनामूलक सन्देश निरन्तर प्रचारप्रसार गर्ने निर्णय गरेको छ।

त्यसैगरी, नेपाल राजपत्रमा प्रकाशित विपद्सम्बन्धी कानुनी संशोधन व्यवस्थाअनुसार विपद्का कारण बेपत्ता भएका व्यक्तिको मृत्यु प्रमाणित गर्ने विषयमा तत्काल निर्णय गर्न कठिनाइ भए सम्बन्धित समितिका अध्यक्षलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा विगतका निर्णयहरूको समीक्षा गर्दै जाडो मौसममा हुन सक्ने सम्भावित विपद्का घटनालाई ध्यानमा राखेर पूर्वतयारी, खोज तथा उद्धार, राहत वितरण र सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

बैठकमा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, समितिका पदाधिकारी र सरोकारवालाहरूको सहभागिता रहेको थियो। सम्भावित विपद्बाट नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सबै सम्बन्धित निकायलाई पूर्वतयारीमा जुट्न तथा जोखिमसम्बन्धी सूचना समयमै सर्वसाधारणसम्म पुर्‍याउनुपर्नेमा बैठकले जोड दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार