मलंगवा – सर्लाहीका सीमावर्ती क्षेत्रमा अवैध सामानको ओसारपसार तथा तस्करी व्यापक रूपमा हुने गरेको पाईएको छ । श्रोतका अनुसार जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट दिनको समयमा समेत अवैध सामान ओसारपसार हुने गरेको छ भने रात परेपछि यस्तो गतिविधि झन् बढ्ने गरेको छ।
बिशेषगरि जिल्लाको पश्चिमी क्षेत्रका बिभिन्न नाकामा व्यापक तस्करी बढेको पाईएको छ। यस क्षेत्रका फेनहारा, मधुबनी, अर्नाहा, बलरालगायतका सिमाबाट अत्यधिक तस्करी हुने गरेको छ।

जिल्लाका सीमावर्ती नाकाबाट किराना सामान, लत्ताकपडा, चिनी, सुर्ती, आलु, प्याज, खाद्यान्न, स्पेयर पार्ट्स, मोबाइलदेखि भैंसी तथा राँगापाडासम्म भारतबाट दैनिक रूपमा अवैध रूपमा भित्रिने गरेको स्थानीयको दाबी छ, जसका कारण जिल्लाका विभिन्न नाकामा तस्करीको जालो मौलाउँदै गएको छ।
स्थानीयका अनुसार सीमावर्ती नाकाहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पोस्ट तैनाथ रहे पनि तस्करी नियन्त्रण प्रभावकारी हुन सकेको छैन। बरु, तस्करी नियन्त्रण गर्नुपर्ने सुरक्षा निकायका केही व्यक्तिहरू नै तस्करसँग मिलेमतो गरी अवैध ओसारपसारलाई सहजीकरण गर्ने गरेको स्थानीयले आरोप लगाएका छन्।
यद्यपि, सुरक्षा निकायका व्यक्तिहरूमाथि लगाइएको यस्तो आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यस्ता आरोपहरु बिगतदेखि लाग्दै आएका छन् भने बेला बेला केहि सुरक्षाकर्मीले तस्करसंग पैसा असुल्ने गरेका भिडियो र अडियोहरु बाहिरिने गरेका छन्।
जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट भन्सार छली गरि तस्करी गरिने सामानले राज्यको राजस्वमा नोक्सानी पुर्याउनुका साथै कानुनी प्रक्रिया पूरा गरेर व्यापार गर्ने व्यवसायीलाई समेत असमान प्रतिस्पर्धाको मारमा पारेको छ।
स्थानीयका अनुसार सीमामा सर्वसाधारणले विभिन्न बहानामा दुःख, हैरानी र अनावश्यक झन्झट खेप्नुपरेको छ भने अर्कोतर्फ अवैध सामानको ओसारपसार खुलेआम हुने गरेको छ। सर्वसाधारणमाथि कडाइ देखाउने तर तस्करी नियन्त्रणमा प्रभावकारी कदम नचाल्ने प्रवृत्तिले सीमाको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएको स्थानीयको गुनासो छ।
स्थानीयहरूले तस्करी नियन्त्रणका लागि जिम्मेवार निकायले प्रभावकारी कदम चाल्नुपर्ने र सीमामा हुने अवैध ओसारपसार रोक्न नियमित निगरानी तथा कडाइका साथ कारबाही गर्नुपर्ने माग गरेका छन्।





