सर्लाही – सर्लाहीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बससहित तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा चितवनमा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४, धारापानीमा दुर्घटना भएको हो।
प्राप्त विवरणअनुसार बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको कोशी प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका थिए।

दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन भएको थियो। उद्धार गरिएका घाइतेलाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।
दुर्घटनापछि पृथ्वी राजमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेपछि यात्रुहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।





