बारामा अबैध रुपमा ल्याउँदै गरेको पटकासहित दुई जना पक्राउ

२०८३ कार्तिक १०, मंगलवार १६:१९

सर्लाही – बारामा प्रहरीले अबैध रुपमा ल्याउँदै गरेको पटकासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – १, पथलैयास्थित प्रहरी चेकपोइन्टबाट प्रहरीले करिब ८० हजार रुपैयाँ मूल्य बराबरको अवैध पटकासहित उनीहरुलाई पक्राउ गरेको हो।

मंगलबार बिहान करिब ८:३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा पटका बरामद गरेको हो।

प्रहरीका अनुसार सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको माछा लोड गरिएको पिकअपलाई पथलैया चेकपोइन्टमा जाँच गर्दा लुकाइछिपाइ ल्याउँदै गरेको विभिन्न सात प्रकारका ६४ डिब्बा पटका फेला परेको थियो।

पटका बरामद भएपछि प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ का २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको जनाएको छ।

बरामद पटाकामा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्।

बरामद पटाकाको कुल अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार