चक्रवात ‘अर्णब’को कहर : भारतमा तीन जनाको मृत्यु, ३० हजारभन्दा बढी विस्थापित

२०८३ कार्तिक ११, बुधवार १८:०३

भारत – भारतको पूर्वी तटीय क्षेत्रमा आएको चक्रवात अर्णबका कारण तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा क्षति पुगेको छ।

चक्रवातले आन्ध्र प्रदेशमा बढी प्रभाव पारेको छ भने ओडिशा र झारखण्डका विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाको जोखिम बढाएको छ। सम्भावित क्षतिलाई मध्यनजर गर्दै ओडिशामा ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार (२८ अक्टोबर) बिहान चक्रवात अर्णब आन्ध्र प्रदेशको काकीनाडा र पुडुचेरीको यानम क्षेत्रबीचको तटीय भूभागमा प्रवेश गरेको थियो। आँधीका कारण तटीय क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै सयौँ रूख र विद्युत्‌का पोल ढलेका छन्।

राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का महानिरीक्षक नरेन्द्र सिंह बुन्देलाका अनुसार आन्ध्र प्रदेशको उत्तरी भाग र ओडिशाको दक्षिणी क्षेत्र चक्रवातबाट बढी प्रभावित भएका छन्। दुवै राज्यमा उद्धार तथा विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ।

भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात जमिनमा प्रवेश गर्दा हावाको अधिकतम गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो। बुधबार बिहान ८ः३० बजेसम्म यसको तीव्रता घटेर गम्भीर चक्रवाती आँधीमा सीमित भएको थियो। चक्रवात थप कमजोर हुँदै जाने अनुमान गरिए पनि प्रभावित क्षेत्रमा भारी वर्षा र तीव्र हावाको जोखिम भने कायमै रहेको मौसम विभागले जनाएको छ।

चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ओडिशा सरकारले ३० हजारभन्दा बढी मानिसलाई जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। गंजम, गजपति, रायगडा, कोरापुट, मलकानगिरी र नबरंगपुरलगायत जिल्लामा निगरानी बढाइएको छ।

मौसम विभागले मलकानगिरी, कोरापुट, नबरंगपुर, रायगडा, गजपति र कालाहांडी जिल्लामा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिँदै रेड अलर्ट जारी गरेको छ। ती क्षेत्रमा प्रतिघण्टा ६० देखि ८० किलोमिटरसम्मको हावा चल्न सक्ने अनुमान गरिएको छ। लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको छ।

चक्रवातको प्रभाव झारखण्डमा पनि देखिएको छ। राजधानी राँचीसहित विभिन्न जिल्लामा वर्षा भइरहेको छ। मौसम विभागले राँची, खुन्टी, सिमडेगा, गुम्ला, लोहरदगा, बोकारो, सरायकेला–खरसावाँ तथा पूर्वी र पश्चिम सिंहभूम जिल्लामा भारी वर्षाको चेतावनी दिएको छ।

वर्षा र चिसो हावाका कारण तापक्रम तीनदेखि चार डिग्री सेल्सियससम्म घट्न सक्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै राँची र लोहरदगा जिल्लामा अक्टोबर २८ र २९ का लागि कक्षा १२ सम्मका विद्यालयको पठनपाठन स्थगित गरिएको छ।

चक्रवातका कारण विशाखापट्टनम, विजयवाडा र राजमुन्द्री विमानस्थलबाट सञ्चालन हुने हवाई सेवा पनि प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण केही उडान रद्द गरिएका छन् भने केहीमा ढिलाइ भएको छ।

भारतको नागरिक उड्डयन मन्त्रालयले यात्रुलाई विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ। साथै, उडान रद्द वा ढिलाइ हुँदा पुनः टिकट बुकिङ तथा रकम फिर्तासम्बन्धी जानकारी उपलब्ध गराउन एयरलाइन्सलाई निर्देशन दिइएको छ।

चक्रवातको तीव्रता घट्दै गए पनि आन्ध्र प्रदेश, ओडिशा र झारखण्डका प्रभावित क्षेत्रमा भारी वर्षा, तीव्र हावा तथा पहिरोको जोखिम कायम रहेकाले सम्बन्धित निकायले सतर्कता बढाएका छन्। प्रभावित नागरिकको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार