सर्लाही – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायत रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील मानिसलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ ।
इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै विभागले स्वस्थ वयस्कले समेत दैनिक दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव दिएको हो ।

विभागका अनुसार नेपालमा १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन् । उत्पादनको लेबल र प्रयोगशाला परीक्षण प्रतिवेदनअनुसार नेपाली बजारमा उपलब्ध इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ ।
युरोपेली खाद्य सुरक्षा प्राधिकरण (इएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (युएसएफडीए) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने क्याफिनको कुल मात्रा दैनिक ४०० मिलिग्रामसम्मलाई वैज्ञानिक आधारमा स्वीकार्य मानेका छन् ।
विभागले नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्समा रहेको क्याफिनको मात्रा उक्त सीमाको २५ प्रतिशतभन्दा कम रहेको जनाएको छ । विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध तथा मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न पनि सचेत गराएको छ । साथै, अन्य पेय पदार्थमा मिसाएर इनर्जी ड्रिङ्क्स सेवन नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।
उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्रै विज्ञापन तथा प्रचारप्रसार गर्न विभागले निर्देशन दिएको छ । उत्पादनको लेबलमा राख्नुपर्ने चेतावनी र सुरक्षित उपभोगसम्बन्धी जानकारी उपभोक्ताले स्पष्ट रूपमा बुझ्ने गरी उल्लेख गर्नसमेत आग्रह गरिएको छ ।
खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने उद्देश्यले वैज्ञानिक तथ्य तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सही सूचना प्रवाह गर्न विभागले सरोकारवालालाई अनुरोध गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत काम गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।





