मलंगवा – सर्लाहीको हरिवन बजारस्थित सुनचाँदी पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई चोरीका गरगहनासहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार बिहान करिब ४ बजे हरिवन नगरपालिका – ११ मा सुरज साहले सञ्चालन गर्दै आएको ‘रिद्धि सिद्धि ज्वेलर्स’मा चोरी भएको थियो।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले खोजतलास अघि बढाएको थियो। प्रहरीले खोजी गर्ने क्रममा हरिवन नगरपालिका–११ स्थित कबिन कार्कीको घरमा डेरा गरी बस्दै आएका दुई जनालाई चोरी भएका गरगहनासहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लाको आदापुर थाना अन्तर्गत औरहिया पञ्चायत–११ का २५ वर्षीय जुनैद अंसारी र झरोखर थाना अन्तर्गत आठमोहनी पञ्चायत–१२ का २८ वर्षीय रियाज अंसारी रहेका छन्।
प्रहरीले उनीहरू बस्दै आएको कोठाबाट सुनका पेण्डल ३५ थान, कानका टप ३९ थान, चन्द्रमा ८ थान, नौगेडी एक थान, बेबी माला पाँच थान, तिलहरी एक थान, औँठी चार थान, मोती क्लिप एक थान र खुकुरी एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए।
त्यसैगरी सुनजस्तो देखिने नक्कली हार एक थान, फलाम काट्ने कटर एक थान र एन्ड्रोइड मोबाइल एक थानसमेत फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।





