बारामा ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते

२०८३ कार्तिक १३, शुक्रवार १७:११
सांकेतिक तस्बिर

सर्लाही – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। नेपाल आयल निगमको डिपो नजिकै बिहीबार मध्याह्न करिब १२ बजे तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको हो।

प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्यांकरमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। त्यसपछि हाइसको पछाडिबाट धरानबाट हेटौँडातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल समेत ठोक्किएको थियो।

दुर्घटनामा ट्यांकर चालक, हाइस चालक, मोटरसाइकल चालकसहित हाइसमा सवार यात्रुहरू घाइते भएका छन्। घाइते हुनेमा जितपुर सिमरा–१६ का ५० वर्षीय ट्यांकर चालक चेतनाथ खरेल, पोखरा–५ का ३८ वर्षीय हाइस चालक आशिष मल्ल, वीरगञ्ज–२ की समिना खातुन र उनकी २५ वर्षीया छोरी सखीना खातुन रहेका छन्।

त्यस्तै, जितपुर सिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा–१८ का ४३ वर्षीय मनोज थापा क्षेत्री, धरान–१६ का २४ वर्षीय मोटरसाइकल चालक सरोज गुभाजु, भारतको बिहार पूर्वी चम्पारणका ७० वर्षीय नवल किशोर साह, प्रसौनी गाउँपालिका–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारतको पश्चिम बंगाल हुग्लीकी २६ वर्षीया साबनी दास पनि घाइते भएका छन्।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको अमलेखगञ्जस्थित अक्कल बहादुर कार्की मेडिकल र नोभा केयरमा उपचार भइरहेको छ। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक सुरुमा एकतर्फी सञ्चालन गरिएको थियो। पछि दिउँसो १ः५५ बजेदेखि सडकमा दुवैतर्फ सवारी आवागमन नियमित भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार