सर्लाही – सिरहामा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नोट बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकबाट शिव चोक जाने हुलाकी सडकखण्डमा पैदल हिँडिरहेका दुई जनालाई जाँच गर्ने क्रममा नक्कली नोट फेला परेको थियो।

विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियालाई जाँच गरेको थियो।
जाँचका क्रममा उनीहरूको साथबाट ५०० दरका तीन थान र १ हजार दरका २४ थान गरी जम्मा २७ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




