बागमती नदीमा पानीको सतह बढ्दै, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्लाही प्रशासनको आग्रह

२०८३ कार्तिक १४, शनिवार १५:११

मलंगवा – बागमती नदी र आसपासका क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार सूचना जारी गर्दै बागमती नदीमा पानीको सतह बढ्ने सम्भावना रहेकाले नदी आसपासका बस्ती तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरेको हो।

नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार मकवानपुरस्थित इन्द्रसरोवर जलाशयको जलसतह शनिबार दिउँसो १२ बजे १ हजार ५२८.१५ मिटर पुगेको छ। पानीको बहाव र जलाशयमा भरिँदै गरेको पानीको अवस्थालाई हेर्दा साँझ करिब ४ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।

जलाशयको जलसतह १ हजार ५२८.५० मिटर पुगेपछि पूर्वसावधानीस्वरूप पहिलो साइरन बजाउने तथा एसएमएसमार्फत सर्वसाधारणलाई सूचना प्रवाह गर्ने व्यवस्था रहेको प्रशासनले जनाएको छ।

जलसतह बढ्दै जाँदा बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्ने र त्यसबाट मुख्य रूपमा सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले जोखिम रहेको प्रशासनले जनाएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार