मलंगवा – सर्लाहीमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ज्यान मार्ने उद्योग, चोरी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ज्यान मार्ने उद्योग मुद्दाका तीन जना, चोरी मुद्दाका एक जना र बैंकिङ कसुर मुद्दाका एक जना रहेका छन्। प्रहरीका अनुसार ज्यान मार्ने उद्योग मुद्दाका तीन जनालाई अदालतले कुल १ लाख २० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

त्यस्तै, चोरी मुद्दाका एक जनालाई २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो भने बैंकिङ कसुर मुद्दाका एक जना प्रतिवादीलाई चालु मुद्दाअन्तर्गत पक्राउ गरिएको हो। पक्राउ परेका पाँचै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




