गगन थापामाथि अमरेश सिंहको कटाक्ष: फेरि ‘मुखै हेर्दिनँ’को घर चहार्दै किन हिँडेको ?

२०८३ कार्तिक १९, बिहिवार ०८:०१
file image

सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापामाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्।

कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रुपैयाँको चलखेल भएको र सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीलाई ३ करोड रुपैयाँ दिइएको दाबीसहितको अडिओ सार्वजनिक भएको विषयलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेका बेला सिंहले थापामाथि कटाक्ष गरेका हुन्।

विवादित अडिओमा गरिएको दाबीको सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि कांग्रेस सभापति थापाले सोमबार साँझ फेसबुकमार्फत नै जवाफ दिँदै ‘अहिले ठिक १८:०० बजेको छ, तर्साउने धेरै आए, तर्सिने बानी परेन’ लेखेका थिए।

यसैबीच, थापा मंगलबार साँझ भक्तपुरको गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न पुगेका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिपछि थापाले दिएको जवाफ र ओलीसँगको भेटलाई जोडेर सिंहले प्रश्न उठाएका हुन्। बुधबार राति फेसबुकमा लेख्दै सिंहले १८ करोड रुपैयाँको प्रसंग उल्लेख गरेर थापामाथि व्यंग्य गरेका छन्।

उनले लेखेका छन्, ‘१८ सिटे पार्टीलाई हत्याउन १८ करोड बुझाएका सभापति भन्छन् ‘तर्सिन्नँ’। फेरि मुखै हेर्दिनँको घर चहार्दै किन हिँडेको?’ सिंहको यो टिप्पणीले कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीचको भेटलाई लिएर राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार