सर्लाही – सर्लाहीको गोडैता नगरपालिका – २ जयपुरस्थित श्री जनता आधारभूत विद्यालयमा बालविकास शिक्षिका भर्ना गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ। भर्ना प्रक्रियामा पारदर्शिता र निर्धारित मापदण्डको पालना नभएको तथा विद्यालय प्रशासनले गोप्य रूपमा प्रक्रिया अघि बढाउन खोजेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको हो।
विद्यालयमा प्राप्त बालविकास शिक्षकको कोटामा प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने भए पनि सार्वजनिक रूपमा सूचना प्रकाशन नगरी भर्ना प्रक्रिया अघि बढाउन खोजिएको स्थानीयको आरोप छ।

विद्यालयका प्रधानाध्यापक गर्भु महतोले आफूअनुकूल व्यक्तिलाई नियुक्त गर्ने उद्देश्यले लामो बिदाको समय पारेर भर्ना प्रक्रिया अघि बढाउन खोजेको स्थानीयले आशंका व्यक्त गरेका छन्। भर्नासम्बन्धी सूचना विद्यालयमा सार्वजनिक रूपमा टाँस नगरी सीमित व्यक्तिलाई मात्र जानकारी हुने गरी प्रक्रिया अघि बढाइएको आरोपले विद्यालय प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाएको छ।
यस विषयमा स्थानीय सञ्चारकर्मीहरूले प्रधानाध्यापक महतोसँग जिज्ञासा राख्दा उनले सूचना गोप्य राख्ने मनसाय नभएको तर अहिलेसम्म विद्यालयमा सूचना टाँस नगरिएको स्वीकार गरेका थिए। लामो समय विद्यालय बन्द रहने बिदाको अवधिमा नै भर्ना प्रक्रिया अघि बढाउन खोजिएको र सार्वजनिक रूपमा सूचना किन प्रकाशन नगरिएको भन्ने प्रश्नमा भने उनले आफूलाई निर्दोष देखाउने खालको जवाफ दिएको सञ्चारकर्मीहरूको भनाइ छ।
विद्यालयमा बालविकास शिक्षिका भर्नाका लागि आवेदन खुलाइएको जानकारी पाएपछि आवेदन दिन पुगेका स्थानीय युवा नागेन्द्र महतो आवेदन नदिई फर्किएका छन्। आवेदन खुलाइएको भनिए पनि आफू पुग्दा आवेदन नखुलाइएको प्रधानाध्यापकले बताएपछि फर्किनुपरेको उनले बताएका छन्।
यसैबीच, गोडैता नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद यादवले भर्ना प्रक्रियाको निष्पक्षता, पारदर्शिता तथा निर्धारित मापदण्डको पालना गर्ने जिम्मेवारी प्रधानाध्यापक र विद्यालय प्रशासनको भएको बताएका छन्। सार्वजनिक सूचना जारी नगरी गरिएको भर्ना प्रक्रिया अवैधानिक हुन सक्ने र त्यस्तो प्रक्रियालाई मान्यता दिन कठिन हुने उनको भनाइ छ। उनले यस विषयमा प्रधानाध्यापक महतोसँग बुझ्ने पनि जानकारी दिएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु मुखियाले भर्नासम्बन्धी सूचना निकाल्ने विषयमा छलफल भए पनि सूचना प्रकाशन गरिएकोबारे आफूलाई जानकारी नभएको बताए। दीपावली तथा छठ पर्वपछि मात्रै सूचना निकाल्नुपर्ने आफ्नो पक्षको धारणा रहेको उनले उल्लेख गरे।प्रधानाध्यापक महतोले विद्यालयमा आफूखुसी निर्णय गर्ने गरेको र आफूलाई जानकारी नदिई विभिन्न गतिविधि सञ्चालन गर्दै आएको आरोपसमेत अध्यक्ष मुखियाले लगाए।
स्थानीय स्रोतका अनुसार दीपावली तथा छठ पर्वको बिदाको मौका पारेर १५ दिनको म्याद राखी विद्यालय बन्द हुनुअघि नै गोप्य रूपमा आवेदन खुलाउने र छठपछि विद्यालय सञ्चालनमा आएलगत्तै पूर्वनिर्धारित उम्मेदवारलाई नियुक्त गर्ने तयारी गरिएको आशंका छ। यद्यपि, यस आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
यस विषयमा गोडैता नगरपालिका–२ का वडाध्यक्ष अजय साहले आफूलाई भर्ना प्रक्रियाबारे कुनै जानकारी नभएको बताए। विद्यालयमा हुने गतिविधिबारे प्रधानाध्यापकले आफूसँग समन्वयसमेत नगर्ने गरेको उनको भनाइ छ।
शिक्षक नियुक्ति जस्तो सार्वजनिक सरोकारको विषयमा सबै योग्य तथा इच्छुक उम्मेदवारले समान अवसर पाउनुपर्नेमा सूचना सार्वजनिक नगरिएको आरोपले भर्ना प्रक्रियाको निष्पक्षतामाथि आशंका उत्पन्न गरेको छ।
बालविकास शिक्षिका भर्ना प्रक्रिया विवादमा परेपछि नगरपालिकाको शिक्षा शाखाले कस्तो कदम चाल्छ र विद्यालय प्रशासनले उठेका प्रश्नको कसरी जवाफ दिन्छ भन्ने चासो बढेको छ।




