मलङ्गवा – सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे गलत तथा भ्रामक सूचना फैलाएको आरोपमा सर्लाहीमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको कबिलासी नगरपालिका – ७ निवासी २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका – ८, गडहिया डुमरिया निवासी ३१ वर्षीय आलम बैठा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आ–आफ्नो फेसबुक खातामार्फत जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ नगरेका व्यक्तिलाई पक्राउ गरेको भन्दै भ्रामक सूचना सार्वजनिक गरेका थिए।
उक्त सूचनाले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक भ्रम तथा अन्योल उत्पन्न गराएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी वास्तविकताभन्दा फरक, मिथ्या तथा भ्रामक सूचना प्रकाशन र प्रसारण गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरीसँग सम्बन्धित कुनै पनि घटना, पक्राउ तथा अनुसन्धानबारे आधिकारिक जानकारी प्राप्त नगरी भ्रामक वा अपुष्ट सूचना प्रकाशन, सेयर तथा पुनःप्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।




