सर्लाहिमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचार अभावमा घरमै मृत्यु

२०८३ मंसिर ३, बिहिवार १७:१३
सांकेतिक तस्बिर

मलङ्गवा – सर्लाहीको धनकौल गाउँपालिका – २ तेल बजारमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा घरमै मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकौल गाउँपालिका–२ निवासी बिदेनी साहकी श्रीमती करिब ४५ वर्षीया बच्ची देवी (पसिया देवी) रहेकी छन्।

प्रहरीका अनुसार २०८३ कात्तिक २९ गते साँझ करिब ७:१५ बजे तेल बजारबाट हरकटवातर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेकी बच्ची देवीलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा उनको टाउकोमा चोट लाग्नुका साथै बायाँ खुट्टा भाँचिएको थियो। घटनापछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो। सुरुमा न्युरो अस्पताल र त्यसपछि नारायणी अस्पतालमा उपचार गरिएको थियो।

अवस्था गम्भीर भएपछि मंसिर १ गते थप उपचारका लागि एनएमसी अस्पताल वीरगञ्ज लगिए पनि आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन नसकी उनी सोही दिन घर फर्किएकी थिइन्। घरमै रहेका बेला मंसिर २ गते राति करिब ९:४५ बजे उनको मृत्यु भएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो।

जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हरकटवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो।

पोस्टमार्टमपछि मंसिर ३ गते दिउँसो १ बजे मृतककी बुहारी रिता देवीले शव बुझेर लगेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार