घुससहित नायव सुब्बा पक्राउ प्रकरण: सिडिओ कवारीलाई गृहमन्त्रीको चेतावनी

२०८१ मंसिर १२, बुधबार १५:५१
file image

सर्लाही – महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग गृहमन्त्रि रमेश लेखकले सोधपुछ गरेका छन्। गृहमन्त्री लेखकले हिंजो (मंगलबार) महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण सोधेका हुन्।

मन्त्रालय स्रोतका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंशिर ७ गते महोत्तरी प्रशासनका नायव सुब्बा अशोककुमार यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। सोहि बिषयमा सोहि जिल्लाका प्रमुख जिल्ला अधिकारी कवारीलाई गृहमन्त्री लेखकले सोधपुच्छ गर्दै चेतावनी दिएको बताईएको छ।

यस्तै, पर्साका अर्यालले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोध्नुपरेको मन्त्रालय स्रोतको भनाइ छ। कात्तिक ३० गते सिडिओले एक कार्यक्रममा सुत्केरीको मृत्यु भएको घटनामा चिकित्सकलाई लक्ष्य गर्दै अभिव्यक्ति दिएका थिए।

उनले आफू भए अस्पतालमा नै आगजनी गर्नेजस्ता अभिव्यक्ति दिएको भन्दै मंसिर ३ गते नेपाल चिकित्सक संघले गृहमन्त्री लेखकलाई भेटेर ध्यानाकर्षण गराएका थिए। यी लगायत विषयमाथि मन्त्री लेखकले उनीसँग मौखिक स्पष्टीकरण लिएका हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार