चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन

२०८१ माघ १, मंगलवार १७:३४

सर्लाही – चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो । चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो ।

अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्र १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरुप राजस्व संकलनमा केन्द्रित हुने बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार